आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

वीर अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय

सुदुर दृष्टि २१ भाद्र २०७७, आईतवार २२:५४ मा प्रकाशित ( ११ महिना अघि) ३८८ पाठक संख्या

काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)को बसेको बैठकले वीरमा कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने र त्यहाँको सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट उपलव्ध गराउने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसंगै वीरमा कोभिड – १९ संक्रमितको उपचार गर्ने अस्पतालको रुपमा संचालन हुने निर्णय भएको बताए । उनले त्यहाँबाट हुँदै आएको सेवा संगै रहेको राष्ट्रिय ट्रमा सेन्टरबाट हुने निर्णय भएको जानकारी दिए ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बुधबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स उपकुलपति प्राडा डीएन साह, वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी सहितको टोलीसंग बुधबार छलफल गरेका थिए । सोही अनुसार आइसीएसले आज निर्णय गरेको हो ।

वीर अस्पतालका निर्देशक डा सेन्चुरीले काठमाडौँ उपत्यकामा कोभिड-१९को संक्रमण बढी रहेको र अहिले पनि वीरमा कोभिडको विरामीको उपचार भइरहेको सन्दर्भमा अव थप बेड छुट्याएर उपचार गर्ने निर्णय भएको बताए ।

ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले वीरबाट हुने सेवा ट्रमा सेन्टरबाट उपलव्ध गराउनका लागि आवश्यक तयारी भइरहेको बताए । उनले चौथो तलामा ट्रमाका सर्जिकल बिरामी, पाँचौँमा मेडिकल, छैटौँमा सर्जिकल र प्लास्टिक सर्जरीका बिरामी राख्ने तयारी भएको बताए ।

‘ट्रमामा हामीले स्पेश मात्रै लिने हौँ । यहीकै जनशक्ति गएर सेवा गर्ने भन्ने व्यवस्था मिलाउँदै छौँ,’ डा सेन्चुरीले भने ।
अहिले अस्पतालमा आएका बिरामी र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ८१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।