आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

चौधरी ग्रुपमा कोरोना आतंक : मालिक मुक्त भएको भोलिपल्ट ४२ कर्मचारीमा संक्रमण पुष्टि

सुदुर दृष्टि २१ भाद्र २०७७, आईतवार २२:५६ मा प्रकाशित ( ११ महिना अघि) ३४३ पाठक संख्या

काठमाडौं । मुलुकको व्यापारिक तथा औद्योगिक घराना चौधरी ग्रुप नराम्रोसँग कोरोनाको चपेटामा परेको छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त भएको भोलिपल्ट उक्त ग्रुपको बर्दिया, बाँसगढीस्थित चाउचाउ कारखानाका ४२ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उक्त उद्योगका ४२ जनामा एकै दिन कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

यसअघि नै उक्त कम्पनिका कर्मचारीमा कोरोना संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा अरुको स्वाब संकलन गरी परीक्षण गर्दा ४२ जनाको नतिजा पोजेटिभ आएको हो । कर्मचारीमा कोरोना देखिएपछि उद्योग सिल गरिएको थियो ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी १० दिनपछि शनिबार कोरोनामुक्त भएका थिए । उनले शनिबार बेलुकी ९ बजे आफू कोरोनामुक्त भएको भन्दै शुभेच्छुकप्रति आभार प्रकट गरेका थिए ।