आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

सुदूरपश्चिमको सहरी क्षेत्रमा कोरोना संक्रमण दिन–प्रतिदिन बढ्दै ।

सुदुर दृष्टि २९ भाद्र २०७७, सोमबार २०:३३ मा प्रकाशित ( १0 महिना अघि) २२२ पाठक संख्या

कञ्चनपुर । पछिल्लो समय सुदूरपश्चिमको सहरी क्षेत्रमा कोरोना संक्रमण दिन–प्रतिदिन बढ्दै गएको छ । सुरुवातमा भारतबाट फर्केर गाउँ–गाउँ पुगेका मानिसमा संक्रमण देखिने क्रम थियो । यद्यपी अहिले भने संक्रमण भीडभाड हुने सहर क्षेत्रतिर बढ्न थालेको हो । झण्डै चार महिना लामो लकडाउन र त्यस पछि जारी निषेधाज्ञा खुकुलो हुदै गए पछि सहरी क्षेत्रमा भीडभाड बढ्यो । त्यसले गर्दा पछिल्लो समय सहरी क्षेत्रमा संक्रमण तीव्र रुपमा फैलिएको चिकित्सकहरु बताउँछन् । भीडभाड हुने सहरी क्षेत्रतिर दैनिक संक्रमण बढिरहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए । ‘लकडाउन खुले पछि सबैतिर मानिसको आवतजावत भयो, भीडभाड बढि हुन थाल्यो ।’ स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले भने, ‘लकडाउन खुल्नुको अर्थ महामारीको जोखिम घटेको ठानेर मानिसहरुले हेलचेक्र्याइँ गरे । जसले संक्रमण फैलिरहेको छ ।’ मास्क नलगाउने र दूरी कायम नगर्दा संक्रमण भीडभाड हुने घनाबस्तीतिर फैलिएको उनको भनाई छ । पछिल्लो समय सुदूरपश्चिमका सहरी क्षेत्रमा संक्रमण तीव्र रुपमा फैलिदै गएको छ । अहिले ग्रामिण क्षेत्रमा फाटफुट मात्रामा संक्रमण देखा परिरहेको तथ्याङ्कले देखाउँछ । कैलाली, कञ्चनपुर, डोटी र अछाममा संक्रमण तीव्र रुपमा फैलिरहेको छ । पछिल्लो समय संक्रमण तीव्र भइरहेका यी चार जिल्लाका संक्रमित अधिकाँस सहरी क्षेत्रका रहेका छन् । भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा नराखी सिधै घर पठाउँदा ग्रामिण क्षेत्रमा संक्रमण फैलिने त्रास छ । कोरोना संक्रमण ‘भुसको आगो जस्तो जताततै फैलिएको’ र परीक्षणको दायरा बढाए अझै संक्रमित संख्यामा वृद्धि हुने चिकित्सकहरु बताउँछन् । भारतबाट आउँदा नाकामा कुनै स्वास्थ्य परीक्षण नगरी प्रवेश गराइएको र क्वारेन्टिनमा समेत नराख्दा संक्रमण भयावह बन्ने जोखिम बढेको उनीहरुको विश्लेषण छ । भारतबाट फर्किएकालाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टिन राख्नु पर्ने भए पनि पछिल्लो समय त्यसो नभएकाले संक्रमणको जोखिम बढेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. गुणराज अवस्थीले बताए । भारतमा रोजगारीका लागि गएका मानिसहरु स्वदेश फर्किने क्रम रोकिएको छैन । दैनिक एक÷दुई सय मानिस भारतबाट स्वदेश फर्किरहेका छन् । सुरुमा सिमानाकामा सामान्य ज्वरो परीक्षण गरेर मात्रै नेपाल प्रवेश गराइन्थ्यो । त्यसपछि पनि नाकाबाटै सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखेर कोरोना परीक्षण गरेर मात्रै घर पठाइन्थ्यो । तर अहिले भने परीक्षण बिना भारतबाट आइरहेका नागरिकहरूलाई धमाधम घर पठाइँदै छ । त्यसैले गर्दा सुदूरपश्चिमका ग्रामिण क्षेत्रमा कोरोनाको त्रास बढेको हो ।