आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

सुदूरपश्चिमका जिल्लाहरुमा बुढी पोल्ने पर्व ।

सुदुर दृष्टि १ आश्विन २०७७, बिहीबार २०:०० मा प्रकाशित ( ६ महिना अघि) २०६ पाठक संख्या

कञ्चनपुर । सुदूरपश्चिमका जिल्लाहरुमा बिहिबार असोज संक्रान्ति अर्थात बुढी पोल्ने पर्व धुमधाम संग मनाईएको छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन, राक्षस पुतनालाई भगवान श्री कृष्णँले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाईने गरिन्छ ।
यस पर्वमा गाईबस्तुको हेरचाहा गर्ने ग्वालाहरुले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला,बाँझ लिङगो आदि रुखहरु काटेर दुई ओटा बाटाहरु मेलेको दोबाटोमा गाड्ने र आजको दिन त्यसलाई त्यसमा कांडादार घांसबाट बनाइएको पुतनाको राक्षसको आकृति बनाई त्यसमा आगो लगाएर जलाउने चलन रहेको छ ।
द्वापर युगमा राक्षसी पुतना राजा कंसको आदेशले भगवान कृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लागेको वेला भगवान कृष्णले थाहा पाई उल्टै राक्षसी पुतनाको रगत चुसी मारेर विजयी हासिल गरेको खुसीयालीमा सुदुरपश्चिममा यो पर्व मनाउने गरीन्छ ।
जासुसी राक्षस पुतना दहनका लागि सबै घरबाट कांस, अमरिसोलगायत पांच जातको घांसले बेरेको रांको बनाएर बुढी पोल्ने ठाँउमा लैजाने गरिन्छ । र दोबाटोमा जलाएको पुतना राक्षसनिको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि रहेको छ ।
बुढी पोल्दा तुतो फाल्ने भन्दै स्थानिय युवाहरु काँक्रो चपाउदै थुक्ने गर्दछन् र समाजमा भएका ठुला बढा व्यक्तिहरुको नाम पुकादै लुतो जैजान भनी नाच्दै रमाउने गर्दछन् ।
साँझ आकासमा तारा चम्केपछिमात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरीन्छ ।
यसो गर्दा गाई गोरुलाई र गोठमा पालीने ्जनावरहरुलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक जनविश्वास रहीआएको छ । यो पर्व सुदुरपश्चिमको बैतडी,दार्चुला, डडेल्धुरा,बझाङ,अक्षाल,बाजुरा लगायतका जिल्लाहरु र छिमेकी देश भारतको उत्तराञ्चलका कुमाउं गढवालमा मा पनि मनाईने गरीन्छ ।
बुढी पोल्ने पर्वको अवसरमा आज यि जिल्लाहरुमा रातभरी सुदूरपश्चिमेलीहरुको लोक संस्कृति डेउडा खेल्ने र काँक्रो लगायतका अन्य फलफूलहरु आपस बाढीचुडी खाने चलन रहीआएको छ ।
वर्तमान समयमा भने सुदूरपश्चिमको एउटा चाँड बुढीपोल्ने पर्वको अस्थीत्व कम हुदै गएकोमा स्थानिय को चिन्ता पनि उत्रिकै रहेको छ । यस्ता मौलीक चाँडपर्वहरुलाई संरक्षण गर्न आफुहरुको दायित्व भएकाले संस्कृति संरक्षणमा लाग्नु पर्ने स्थानिय बुद्धिजिबिहरुको भनाई रहेको पाईन्छ ।