आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

सुदुरपश्चिमका पहाडी जिल्लामा आज बिसु पर्व मनाईदै

सुदुर दृष्टि १ बैशाख २०७८, बुधबार ०७:४५ मा प्रकाशित ( ३ महिना अघि) ७८ पाठक संख्या

सुदुरपश्चिमका पहाडी जिल्लामा आज बिसु पर्व मनाईदैछ ।  नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रुपमा मनाउने चलन रहिआएको छ ।
बिसु पर्व विशेषगरी सुदुरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइने गरिएको छ । बैतडी ,अछाम, डोटी, डडेल्धुरा, बझांग, बाजुरामा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ । देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा रहेको संस्कृतिका जानकार जयानन्द भट्टको भनाई छ ।
हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै बिसुपर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ ।

हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परीकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको छ । पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ ।
सुदुरपश्चिमको महत्वपूर्ण पर्वका रुपमा रहेको बिसु पर्व आउनु पूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने (स्थानीय भाषामा घर छिप्ने) गरिन्छ ।

विशेष गरी घर छिप्ने कार्यमा महिलाहरु सक्रिय हुन्छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्ष भरी नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।बिसु पर्व विषेशः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बढी मनाइने गरिन्छ । पहाडबाट बसाइँ सर्नेक्रम बढेसँगै तराईका कैलाली, कञ्चनपुरमा समेत यो पर्व मनाउने गरिन्छ ।
देवर नहुने र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा कायमै रहेको दोगडाकेदार ३ श्रीकोटका गणेश विष्टको भनाई छ ।

जिल्ला बाहिर अध्ययन, व्यापार, नोकरी र ज्याला मजदुरीका लागि गएका स्थानीय बासिन्दा समेत बिसुका लागी घर फकिर्एका छन् ।